पाकिस्तानी सेनाका प्रमुखको त्यो भाषण जसका कारण भारतमा आक्रोशसँगै अविश्वास चुलिएको छ

तस्बिर स्रोत, Getty Images
- Author, फरहत जावेद
- Role, बीबीसी उर्दू, इस्लामाबाद
पाकिस्तानी सेनाका प्रमुख जेनरल आसिम मुनिर खासै चर्चा खोज्ने व्यक्ति होइनन्। तर केही सातादेखि उनीबारे पाकिस्तानमा मात्र नभई सीमापारि भारत र अन्यत्र कूटनीतिक वृत्तमा पनि चर्चा हुन थालेको छ।
भारत-प्रशासित कश्मीरको पहलगाममा सन्दिग्ध चरमपन्थी लडाकुहरूले गोली हानी २६ जनाको हत्या गरेको घटनाभन्दा केही दिनअघि जेनरल मुनिरले कश्मीरबारे टिप्पणी गरेका थिए। उक्त टिप्पणीका कारण बढ्दो क्षेत्रीय तनावबारे पाकिस्तानी सेनाको धारणा र भूमिकाबारे फेरि बहस सुरु भएको छ।
कश्मीरमा भारत र पाकिस्तान दुवैले आफ्नो पूर्ण स्वामित्व हुनुपर्ने दाबी गर्दै आएका छन्। सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएदेखि नै उक्त भूभाग दुई देशबीच विवादको एउटा मुख्य कारण रहँदै आएको छ।
जेनरल मुनिरले पहलगाममा आसन्न हिंसातिर सङ्केत हुने गरी कुनै टिप्पणी गरेका थिएनन्। तर उनले भनेका शब्दहरू केलाउँदै तिनको आशयमा उनी र उनले नेतृत्व गर्ने संस्था दुवै आक्रामक हुने विश्लेषण गरिएको छ।
पाकिस्तानमा उनलाई सर्वाधिक शक्तिशाली व्यक्ति मानिन्छ। पाकिस्तानमा सेनामाथि सरकार बनाउने र हटाउने अनि राजनीतिमा हस्तक्षेप गर्ने आरोप लाग्दै आएको छ। अहिले फेरि भारतसँग तनाव चुलिँदा परमाणुअस्त्रसम्पन्न दुई देशबीचको द्वन्द्वमा उनलाई एउटा मुख्य पात्र मानेर उनीप्रति धेरैको दृष्टि केन्द्रित छ।
जेनरल आसिम मुनिर को हुन् त? अनि उनलाई के कुराले प्रेरित गर्छ?
को हुन् जेनरल आसिम मुनिर
जेनरल मुनिर एक इस्लामिक विद्वान् तथा विद्यालयका प्रधानाध्यापकका छोरा हुन्। उनी ६० वर्ष पनि पुगेका छैनन्।
उनी सन् १९८६ मा सेनामा भर्ती भएका थिए। त्यसपछि उनलाई '२३ फ्रन्टिअर फोर्स रेजिमन्ट'मा खटाइयो।
झन्डै चार दशकको अवधिमा उनले कश्मीरनजिकै पाकिस्तानको संवेदनशील उत्तरी सीमामा सैनिकहरूको र गुप्तचर निकायको नेतृत्व गरेका छन्। साउदी अरबमा बसेर उनले दुई देशबीचको प्रतिरक्षा सम्बन्ध सुदृढ बनाउने अभिभारा पनि निर्वाह गरेका थिए।
उनी इस्लामाबादस्थित न्याश्नल डिफेन्स यूनिभर्सिटीबाट सार्वजनिक नीति तथा रणनीतिक सुरक्षा व्यस्थापनमा स्नातकोत्तर हुन्। उनले जापान र मलेशियाका सैन्य संस्थाहरूबाट पनि तालिम लिएका छन्।

तस्बिर स्रोत, ISPR/X
मैले जेनरल मुनिरलाई सन् २०२३ मा इस्लामाबादस्थित एउटा होटलमा आयोजित कार्यक्रममा देखेको थिएँ। उनी सादा पोसाकमा थिए, मञ्चतिर जाँदा उनलाई शान्त तर प्रभावशाली देखिन्थ्यो।
उनले कुरानको एउटा श्लोकबाट आफ्नो भाषण थाले। त्यसबाट उनले आफू इस्लामिक धर्मग्रन्थ कुरान कण्ठस्थ पारेको 'हाफिज' भएको सङ्केत प्रवाह गरे। पाकिस्तानी सेनाका वरिष्ठ अधिकारीहरूले विरलै कुरान कण्ठ गरेका हुन्छन्।
व्यक्तिगत रूपमा जेनरल मुनिर मृदुभाषी र भद्र देखिन्थे। तर मञ्चमा उनलाई कठोर देखिन्थ्यो, उनका आँखामा उनी गुप्तचर निकायका पूर्वप्रमुख भएको छनक देखिन्थ्यो।
उनी हेर्न, सुन्न र पर्खिन तालिम पाएका व्यक्ति हुन्। अहिले उनका शब्दहरू पाकिस्तानबाहिर पनि प्रतिध्वनित भएका छन्।

तस्बिर स्रोत, Reuters
जेनरल मुनिर नोभेम्बर २०२२ मा पाकिस्तानी सेनाको शीर्ष पदमा पुगेका हुन्।
उनी सेनाप्रमुख बनेका बेला पाकिस्तानको राजनीतिमा ठूलो उतारचढाव आएको थियो, देशमा आर्थिक सङ्कट थियो र सार्वजनिक वृत्तमा सुशासनको विषयमा सेनाको भूमिकाबारे संशय विद्यमान थियो।
मुनिरको सम्बन्ध तात्कालिक प्रधानमन्त्री इमरान खानसँग बिग्रिएको थियो। तर कैयौँ महिनाको अडकलबाजीपछि उनी अन्ततः सेनाप्रमुख नियुक्त भए।
जेनरल मुनिरले पाकिस्तानी गुप्तचर निकाय आईएसआईको आठ महिना नेतृत्व गरेका थिए। तर खानले उनलाई उक्त उत्तरदायित्वबाट हटाइदिए। खानले व्यक्तिगत र राजनीतिक कारणले त्यसो गरेको दाबी धेरै जनाको थियो। तर दुवै पक्षले त्यसलाई खण्डन गरेका थिए। तर खानको उक्त निर्णय उनीहरू दुई जनाबीचको सम्बन्धमा निर्णायक मोड बन्न पुग्यो।
अहिले इमरान खान जेलमा छन् भने जेनरल मुनिर पाकिस्तानका सर्वाधिक शक्तिशाली व्यक्ति हुन्।
केही टिप्पणीकारहरूका अनुसार जेनरल मुनिरको स्वभाव र शैली उनका पूर्ववर्ती कमर जावेद बाजवाको भन्दा भिन्न छ।
जेनरल बाजवा प्रायः सार्वजनिक कार्यक्रममा सहभागी हुन्थे। उनी भारतसँग 'मौन कूटनीति'का पक्षमा थिए। सन् २०१९ मा दुई देशबीच ठूलो तनाव उत्पन्न हुँदा उनी पाकिस्तानी सेनाको नेतृत्वमा थिए। उनी संयमित र सतर्क भएर काम गर्थे।
"बाजवा डक्ट्रिन" पनि भनिएको आफ्नो नीतिअनुसार उनले परम्परागत सुरक्षासम्बन्धी प्राथमिकताहरूसँगै क्षेत्रीय स्थिरता र भू-अर्थतन्त्रमा अझ जोड दिए।
भारत-प्रशासित कश्मीरको पुलवामामा भारतीय फौजलाई लक्ष्य गरेर एउटा आत्मघाती बम विस्फोटन भएपछि उत्पन्न द्वन्द्वका बेला भारतले गरेको हवाई आक्रमणको जबाफ दिने कारबाहीको नेतृत्व जेनरल बाजवाले गरे। तर उनले तनाव थप बढाउन खोजेनन्।
उनले पाकिस्तानमा पक्राउ परेका भारतीय सैन्य विमानका चालक अभिनन्दन वर्धमानलाई भारत फर्काइदिए। त्यसबाट तनाव थप चर्किन र पूर्णस्तरको लडाइँ हुन पाएन।

तस्बिर स्रोत, Getty Images
"बाजवा स्पष्ट थिए," सिङ्गापुरस्थित एस राजारत्नम स्कूल अफ इन्टर्न्याश्नल स्टडीजका वरिष्ठ प्राज्ञ अब्दुल बसित भन्छन्।
"उनले कूटनीतिक ढोका खुला राखेका थिए अनि कुशलतापूर्वक कश्मीर, अफगानिस्तान र अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीजस्ता धेरै मोर्चा सम्हालेका थिए," उनले भने।
उनका अनुसार जेनरल मुनिर भने "तत्काल काम गर्नुपर्ने ठूलो दबाव"मा छन्।
"उनी देशको सुरक्षा अवस्थालाई स्थिर पार्नुपर्ने अपूरो दायित्व लिएर आएका छन्...। उनले सामना गर्नुपरेका समस्याहरू (बढ्दो आतङ्कवाद, राजनीतिक अस्थिरता, आर्थिक सङ्कट, क्षेत्रीय तनावहरू) तुरुन्तै समाधान गर्नुपर्ने खालका छन् तर ती अझ गम्भीर बन्दै गएका छन्। उनीसँग आफ्ना पूर्ववर्ती बाजवाको जस्तो दीर्घकालीन रणनीति बनाउने समय छैन। उनले निकै चाँडो निकै बलियो जबाफ दिनुपर्छ -- पाकिस्तान र विदेशमा पनि।"
पर्यवेक्षकहरूका अनुसार कश्मीर विवादबारे पाकिस्तानका कुनै सैन्य नेता पनि कमजोर खोज्दैनन्।
"कश्मीर पाकिस्तानको राष्ट्रिय सुरक्षाको चासो हो, पाकिस्तानका विद्यालयहरूमा सबै बच्चालाई यो कुरा पढाइन्छ," राजनीतिक तथा प्रतिरक्षा मामिलाका विश्लेषक आमिर जियाले बीबीसीसँग भने। "यहाँ सबैको बुझाइ के छ भने हामीले भारतलाई कुनै खाले मौका दिनु हुँदैन।"
गत साता पहलगाममा भएको आक्रमण विगत दुई दशकमा सर्वसाधारण नागरिकहरूप्रति लक्षित सबैभन्दा ठूलो घटना थियो। पाकिस्तानले आक्रमणकारीहरूलाई सघाएको आरोप भारतले लगायो। तर पाकिस्तानले त्यसको खण्डन गर्यो। भारतले उक्त घटनाको जबाफ सैन्य कारबाही गरेर दिन्छ भन्ने डर अहिले उत्पन्न भएको छ।
कश्मीरबारे के भने
सेनाप्रमुख बनेपछि जेनरल मुनिरले प्रायः सार्वजनिक कार्यक्रममा बोलेका छैनन्। तर उनको एउटा भाषणले धेरैको ध्यानाकृष्ट गरेको छ।
इस्लामाबादमा गत एप्रिल १७ मा आयोजित विदेशी नागरिकहरूको एउटा भेलामा उनले "हामी हिन्दूहरू भन्दा सबै तरिकाले फरक छौँ" भने।
कश्मीरलाई पाकिस्तानको "गर्दनको नसा"को सङ्ज्ञा दिँदै उनले "भारतले गरेको कब्जाविरुद्ध वीरतापूर्वक गरिँदै आएको सङ्घर्षमा पाकिस्तानले कश्मीरीहरू कहिल्यै परित्याग नगर्ने" वचन दिए।
उनको अभिव्यक्ति विगतमा अरू पाकिस्तानी नेताहरूले दिएको जस्तै विचारधारात्मक वक्तव्यमा सीमित हुन सक्थ्यो। तर त्यसपछि भएको घटनाले त्यसो हुन दिएन।
त्यसको पाँच दिनपछि एप्रिल २२ मा भारत-प्रशासित कश्मीरमा लडाकुहरूहरूले पर्यटकहरूलाई ताकेर गोली हाने।
"त्यो सामान्य वक्तव्य थिएन," जोन्स हप्किन्स यूनिभर्सिटीमा कार्यरत जोशुआ टी ह्वाइट भन्छन्।
"उक्त विषयवस्तु पाकिस्तानको वैचारिक मान्यतासँग मिल्ने भए पनि त्यसको भाकाले -- विशेष गरी हिन्दू र मुस्लिमबीच सोझै फरक छ भनिएको प्रसङ्गले -- यसलाई उत्तेजक बनायो।"
"पहलगाम हमलाको ठिक अगाडि आएकाले उनको टिप्पणीका कारण संयमित रहने वा मौन कूटनीति अवलम्बन गर्ने पाकिस्तानको प्रयासलाई निकै जटिल बनाइदिएको छ," ह्वाइटले भने।
बसित पनि जेनरल मुनिरको टिप्पणीबाट हानि पुगेको धारणासँग सहमत छन्। "उनी [मुनिर] त्यति बेला आवेशमा आएका हुन सक्छन्। निजी भेटघाटमा भनेको भए अरू मानिसलाई नबिझाउने खालको कुरा उनले सेनाप्रमुखका रूपमा सार्वजनिक मञ्चबाटै गरे, जुन कुरा निकै आक्रामक लाग्न पुग्यो।"
"केहीले त्यसलाई परिस्थिति फेरिएको सङ्केतका रूपमा लिए," बसित भन्छन्।
"त्यो उनको आगमनको क्षणजस्तो देखियो। अहिले उनी नै सर्वेसर्वा भएको, पाकिस्तानको नेतृत्व फेरि सेनाको हातमा पुगेको उद्घोषजस्तो।"
केही महिनाअघि जेनरल मुनिरले मुजफ्फराबादमा अर्को भाषण गरेका थिए। केही विश्लेषकहरू त्यसमा उनको नीति आफ्ना पूर्ववर्तीको भन्दा कडा हुने सङ्केत देखिएको ठान्छन्। फेब्रुअरी ५ मा कश्मीर ऐक्यबद्धता दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भनेका थिए, "पाकिस्तानले कश्मीरका लागि तीनवटा युद्ध गरिसकेको छ। अझ १० वटा युद्ध आवश्यक हुन्छन् भने पनि पाकिस्तान तयार छ।"
तर समयको संयोगका कारण उनले एप्रिलमा गरेको भाषणबारे भारतीय पक्षले औँला उठाएको छ। भारतीय अधिकारीहरूले पहलगाम आक्रमणसँग त्यसको सम्बन्ध भएको आशङ्का व्यक्त गरेका छन्।
त्यसबारे कुनै प्रमाण पेस गरिएको छैन। तर मुनिरको वक्तव्यले भारतमा अविश्वास बढाएको छ।
पाकिस्तानमा आसिम मुनिरको छवि कस्तो छ
पाकिस्तानमा भने जेनरल मुनिरको गतिविधिलाई सैन्य प्राधिकार स्थापना गर्न प्रतिबद्ध नेताको जस्तो ठानिएको छ।
इमरान खानको गिरफ्तारीपश्चात् ९ मे २०२३ मा भएको दङ्गापछि जेनरल मुनिरले खानका समर्थकहरूमाथि अभूतपूर्व दमन गरे।
सर्वसाधारण मानिसहरूलाई सैन्य कानुनअन्तर्गत मुद्दा चलाइयो। एक वरिष्ठ जेनरललाई सेवाबाट अवकाश लिन बाध्य पारियो, कुनै बेला इमरान खानसँग निकट मानिएका एक भूतपूर्व गुप्तचर प्रमुख पनि पक्राउ परे।
आलोचकहरूले त्यसलाई इमरान खानपक्षधरहरूलाई निमिट्यान्न पार्ने प्रयास भने। तर समर्थकहरूले त्यसलाई पाकिस्तानको शक्तिशाली सेनामा पुनः अनुशासन कायम गर्ने तथा उसको प्राधिकार फेरि स्थापना गर्ने कदम भने।
जेनरल मुनिर पाँचवर्षे कार्यकालको पूर्वार्धमा छन्। तर उनको विरासतको खाका बन्न थालिसकेको छ।
भारतसँग चुलिएको सङ्कटले ठूलो सैन्य द्वन्द्व निम्त्याए पनि वा त्यसलाई कूटनीतिक बाटोबाट निस्तेज पारिए पनि भविष्यमा भारतसँग पाकिस्तानको सम्बन्ध जेनरल मुनिरले हाँकेको दिशामै आधारित हुने छ।
आगामी केही साताहरूले अब के हुन्छ भन्ने निर्धारण गर्ने बसितको धारणा छ।
"जेनरल मुनिरले यो सङ्कटलाई कसरी सम्हाल्छन् भन्ने कुराले उनको सैनिक व्यक्तित्व तथा राजनीतिक शक्ति निर्धारण गर्ने प्रभावशाली छवि अनि पाकिस्तान कस्तो खालको क्षेत्रीय पात्र बन्न चाहन्छ भन्ने कुरालाई परिभाषित गर्ने छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।