पहलगाम हमला: तीन यस्ता प्रश्न जसको जबाफ हालसम्म मिलेको छैन

तस्बिर स्रोत, Getty Images
- Author, इशाद्रिता लाहिडी
- Role, बीबीसी संवाददाता
जम्मू-कश्मीरको पहलगाममा भएको हमलामा २६ जना मारिए। त्यसपश्चात् सार्वजनिक भएका कैयन् भिडिओमध्ये एउटा भाइरल बनेको भिडिओ शीतल कलाठियाको हो। शीतलका ४४ वर्षीय पति शैलेशभाइ कलाठिया पनि उक्त हमलामा मारिएका थिए।
भारतका केन्द्रीय मन्त्री सीआर पाटिल सुरतमा उनको परिवारसँग भेट्न पुगेका थिए। शीतलले आफूलाई सम्हाल्न सकिनन् र मन्त्रीकै सामु दुखेसो पोख्न थालिन्।
शीतलले भनिन्, "तपाईँको साथमा यति धेरै भीआइपी गाडी छन्। सामान्य करदाताको हाल कस्तो छ? त्यहाँ न कुनै सैनिक थिए न कुनै मेडिकल टोली थिए।"
हमलामा ज्यान जोगाएका महाराष्ट्रका पारस जैनले द हिन्दू अखबारसँग कुरा गर्दै त्यहाँ २०-२५ मिनेटसम्म हमला भइरहेको तर न कुनै पुलिस न कुनै सैनिक त्यहाँ रहेको बताए।
विवरणहरूका अनुसार केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)को शिविर हमला भएको स्थानबाट सात किलोमिटर पर थियो भने सेनाको राष्ट्रिय राइफल्स (आरआर)को शिविर पाँच किलोमिटर पर थियो।
हमलामा मारिएकाहरूको परिवार उक्त आघातबाट निस्कन खोजिरहँदा विभिन्न प्रश्न उब्जिन थालेका छन्।
जसको जबाफ अहिलेसम्म मिलेको छैन।
सबभन्दा अहम् सवाल चाहिँ पहलगामको उक्त लोकप्रिय पर्यटनस्थल बैसरनमा सुरक्षा तैनाथी किन थिएन?
बीबीसीले जम्मू-कश्मीर तथा सुरक्षासँग जोडिएका विशेषज्ञहरूसँग यी सवालका जबाफ खोज्ने प्रयास गरेको छ।
उनीहरूले दिएको रायबारे जान्ने प्रयास गरौँ।

तस्बिर स्रोत, ANI
बैसरनमा सुरक्षा किन थिएन?
पहलगाममा भएको हमलापछि उक्त लोकप्रिय पर्यटन स्थलमा सुरक्षा बन्दोबस्ती किन गरिएको थिएन भन्ने प्रश्न बारम्बार उठेको छ।
पत्रकार तथा कश्मीर मामिलाकी जानकार अनुराधा भसीनका अनुसार उनको स्मरणमा रहेसम्म जम्मू-कश्मीरमा जहिले पनि सैन्य बलको बाक्लो तैनाथी हुने गर्थ्यो।
"सन् १९९० को दशकदेखि नै मलाई त्यस्तो कुनै ठाउँको याद छैन जहाँ सुरक्षा नभएको होस्। हरेक ठाउँमा केही न केही सुरक्षाकर्मी वा सुरक्षा तैनाथी देखिन्थ्यो नै। त्यसैले उक्त इलाकामा सुरक्षा थिएन भनेको सुन्नु मेरालागि आश्चर्यजनक छ," भसीनले भनिन्।
तर हमलाको केही घण्टाभित्रै सुरक्षाकर्मीहरूले आक्रमणकारीहरूको नाम तथा चित्र सार्वजनिक गर्न चाहिँ सकेको प्रति पनि उनले प्रश्न उठाइन्।
सन् २०१९ मा संविधानको धारा ३७० हटाएपछि कश्मीरमा यस प्रकारका घटना हुँदै आएको भन्दै उनले पछिल्लो घटना दुनियाँकै सबभन्दा धेरै सैन्य उपस्थिति भएको ठाउँमा भएको बताइन् र यसले गम्भीर प्रश्न खडा गरेको भनिन्।
उनले बितेका पाँच वर्षमा सैन्य नियन्त्रणका कारण त्यहाँ शान्ति देखिएको पनि उनले बताइन्।
प्राध्यापक अमिताभ मट्टु जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)को स्कूल अफ इन्टर्न्याशनल स्टडिजमा अध्यापन गर्छन्।
भसीनका प्रश्नका उत्तर दिँदै उनले भने, "पछिल्ला केही वर्ष यता पर्यटन स्थलहरूमा सैन्य बलको बाक्लो उपस्थिति नराख्ने प्रवृत्ति रहेको छ।"
उनले भने, "यस्तो रणनीति अपनाइएको छ कि त्यो असरदार त होस् तर ज्यादा खुला रूपमा नदेखियोस्। तर जे भए पनि यो एउटा ठूलो सुरक्षा चुक हो।"
बीबीसीले जम्मू-कश्मीरका पूर्व पुलिस महानिर्देशक (डीजीपी) एसपी वैदसँग पनि कुरा गरेको छ। उनले पर्यटकहरूलाई दूर दराजको इलाकामा लगिएको हुँदा त्यहाँ पुलिसको तैनाथी हुनै पर्ने थियो भनेका छन्।
अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल सतीश दुआ लामो समय उक्त क्षेत्रमा तैनाथ थिए। उनले भने, "सेना र आरआर सबै भित्री इलाकामा रहन सक्दैनन्। सिमानामा आतङ्कवादीहरूसँग लड्न खटिएका हुन्छन्। पुलिसको हकमा पनि, कश्मीर उपत्यका १२० किलोमिटर लामो र ३८ किलोमिटर चौडा छ र हरेक ठाउँमा पुलिस तैनाथ गर्न सम्भव हुँदैन।"
सर्वसाधारण किन निसानामा पारिए?

तस्बिर स्रोत, Getty Images
पहलगाम हमलामा सर्वसाधारणलाई किन तारोमा पारियो भन्ने प्रश्न पनि उठेका छन्।
भारतमा लामो समयपश्चात् यति ठूलो स्तरमा आम सर्वसाधारणलाई निसानामा पारिएको हो।
दुआले यसबारे वर्णन गर्दै भने, "गत पाँच वर्षमा कश्मीर उपत्यकामा हालत सुधारिएको थियो। मानिसहरू फेरि सामान्य जीवनतर्फ फर्कँदै थिए। पर्यटन पनि तीव्र गतिले विस्तार भयो। आतङ्कवादीहरूले पर्यटन स्थललाई निसाना बनाउँदैन थिए। किनभने यसो गर्दा स्थानीय कश्मीरीको जीविकालाई निसाना बनाएजस्तो हुन्थ्यो। यसबाट उनीहरूले आस गर्ने स्थानीय समर्थन गुम्थ्यो।"
"जब म कोर कमान्डर थिएँ तब मानिसहरूले मलाई कश्मीरमा घुम्न आउन हुन्छ? भनेर सोध्थे। मैले सधैँ उनीहरूलाई कृपया तपाईँहरू आउनुहोस् र डल लेकमा बस्नुहोस् वा अन्य पर्यटकीय स्थल घुम्नुहोस् भन्थेँ किनभने ती ठाउँमा हमला हुँदैन थिए।"

तस्बिर स्रोत, Getty Images
प्राध्यापक अमिताभ मट्टुले आम मानिसलाई निसाना पारिएको बारे केही प्रश्न गरेका छन्।
"विगतमा आतङ्कवादी समूहले मुख्य रूपमा सैन्य इलाकालाई निसाना बनाउँथे? यसपटक तिनले कश्मीरी मानिसहरूको भावनाको कुनै ख्याल गरेनन्। के हालत सामान्य भइरहेको भन्ने भनाइलाई निस्तेज पार्ने यो एक तरीका थियो");