युक्रेनमा रुसी कब्जाबीच जारी मौन प्रतिरोध र डरको कथा

- Author, ओल्गा मल्चेभ्स्का
- Role, बीबीसी न्यूज
युक्रेनको पाँचौँ हिस्सा अहिले रुसी कब्जामा छ र रुसी नियन्त्रणमा बसिरहेका युक्रेनीहरू युद्ध अन्त्य गराउन भविष्यमा हुने कुनै सम्झौताले अहिलेको अवस्था फेरिने न्यून सम्भावना देख्छन्।
रुस नियन्त्रित विभिन्न सहरमा बसोबास गर्ने तीनजना युक्रेनीले उनीहरूले सामना गर्ने दबावहरूबारे बताएका छन् जसअन्तर्गत रुसी भिसा स्वीकार गर्न बाध्य पारिएकोदेखि प्रतिरोधका ससाना कार्य गर्ने जोखिमसम्म रहेका छन्।
सुरक्षाका कारण हामीले उनीहरूको वास्तविक नाम नबताएर माभका, पावलो र इरिना भनेर उल्लेख गरेका छौँ।
सन् २०२२ मा पूर्ण स्तरको रुसी अतिक्रमणका क्रममा अथवा आठ वर्षअघि क्राइमिया गाभेपछि मारिऊपोल होओस् कि मेलिटोपोल सबै ठाउमा सम्भावित खतरा उस्तै छ।
'रुसीकरण'को कडा नीति
सन् २०२२ को फेब्रुअरी २५ मा रुसीहरूले उनको सहरमा आक्रमण गर्दा माभकाले मेलिटोपोलमै बस्न रोजिन्, "किनकि यो अनुचित हो कि कोही आएर मेरो घर खोसोस्"।
उनी जन्मदेखि नै क्रिमियाली प्रायद्वीप र क्षेत्रीय राजधानी ज्यापोरिज्या बीचमा पर्ने क्षेत्रमा बस्दै आएकी छन्।
हालैका महिनाहरूमा उनीहरूले सहरमा "रुसीकरण"को कडा नीतिलाई प्रवर्द्धन मात्र गरेका छैनन्, बरु विद्यालयहरूसहित जीवनका हरेक क्षेत्रमा सैन्यीकरण पनि बढाएका छन्।
स्थानीय युवाहरूको सेनामा भर्तीको प्रवर्द्धन गर्ने एउटा बिलबोर्ड, पुटिनको तस्बिर भएको विद्यालयको नोटबुक र स्कूले पोसाकको साटो रुसी सेनाको पोसाकमा रहेका केटाकेटीले सैनिक शिक्षाका काम गरिरहेका देखिने तस्वीरहरू साझा गरेकी छन्।
पाभलोका अनुसार आजोभ सागरदेखि करिब २०० किलोमिटर र रुसी सीमादेखि निकै नजिक पर्ने मारिऊपोल सहरको सम्पर्क बाँकी विश्वसँग टुटेको जस्तो लाग्छ।
युक्रेनी स्टील उद्योगको यो प्रमुख बन्दरगाह र केन्द्र सन् २०२२ मा करिब तीन महिनासम्म चलेको विनाशकारी घेराबन्दी र बमबारीपछि कब्जा गरिएको थियो।

तस्बिर स्रोत, REUTERS/Alexander Ermochenko
रुसी नागरिकता लिनैपर्ने
पाभलोका अनुसार यदि तपाईँ काम गर्न वा अध्ययन गर्न चाहनुहुन्छ अथवा यदि तपाईँलाई चिकित्सकीय सहायता चाहिन्छ भने तपाईँले नागरिकता लिनैपर्छ।
"मानौँ कसैको बच्चाले बिहान स्कूलमा रुसी राष्ट्रियगान गाउन मानेन भने रुसी सुरक्षा सेवा एफएसबीका अधिकारीहरू आमाबुवालाई भेट्न जान्छन् र उनीहरूलाई एउटा प्रक्रियाबाट गुज्रिनुपर्छ भनेर भनिन्छ। त्यसपछि के हुन्छ भन्न सकिन्न।"
घेराबन्दीका क्रममा छवटा गोली लाग्दा पाभलो बाँच्न सफल भए। एउटा गोली टाउकोमा समेत लागेको थियो।
अब उनी निको भइसकेका छन्, तर उनलाई लाग्छ कि उनी आफ्ना वृद्ध आफन्तहरूको कारण जान सक्दैनन्।
"मारिऊपोलमा बसेका वा फर्केका धेरैजसोले आफ्ना वृद्ध आमाबाबु वा बिरामी हजुरबाहजुरआमालाई सहयोग गर्न वा उनीहरूको फ्ल्याट भएकोले त्यहीँ बसे," कसैले नसुनून् भनेर मध्यरातपछि फोनमा उनले मलाई भने।
एक्लै हिँड्न गाह्रो
मारिऊपोलमा सबैभन्दा ठूलो चिन्ता भनेको आफ्नो घर राखिराख्नु हो जहाँ रुसी बमबारीबाट धेरैजसो सम्पत्ति नष्ट भएका छन् अनि जीवनयापनको लागत र बेरोजगारी बढेको छ।
"मेरो विचारमा सहरमा ९५ प्रतिशत कुराकानी सम्पत्तिकै बारेमा हुन्छ: कसरी हकदाबी गर्ने, कसरी बेच्ने। रोटी किन्न लाइनमा बसेका बेला, केमिस्टकहाँ गएका बेला, खाद्य बजारमा गएका बेला, जतासुकै त्यही विषयमा कुराकानी भइरहेको तपाईँ सुन्नुहुन्छ," उनी भन्छन्।
सन् २०१४ मा भ्लामदिमिर पुटिनले उक्त प्रायद्वीप गाभेयता क्राइमिया रुसको अधीनमा छ।
इरिना आफ्ना वृद्ध आफन्तको हेरचाहका लागि मात्रै त्यहाँ बसिनन्, आफ्नो सुन्दर घर छोड्न मन नलागेर पनि त्यहीँ बसिन्।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
सार्वजनिक स्थलमा युक्रेनको पहिचान दिने सबै सङ्केतहरूमाथि प्रतिबन्ध लगाइएको छ र इरिनाका अनुसार सार्वजनिक स्थलमा उनी युक्रेनी बोल्न सक्दिनन्, "कसले अधिकारीहरूसम्म बात लगाइदिन्छ भन्ने कुरा तपाईँलाई थाहा हुन्न।"
क्राइमियास्थित नर्सरी स्कूलमा बालबालिकाहरूलाई रुसी राष्ट्रियगान गाउन भनिएको छ। सबै शिक्षक रुसी छन् जसमध्ये अधिकांश सैनिकका श्रीमती छन् जो रुसबाट त्यहाँ गएका हुन्।
प्रायद्वीपका अन्य ठाउँमा साथीहरूसँग भिडिओ कल गर्दा इरिना कहिलेकाहीँ आफ्नो परम्परागत कढाइवाला भेसीभाङ्का टप लगाउँछिन्।
"यसले हामीलाई हाम्रो मनोबल उच्च राख्न सघाउँछ, कब्जाअघिको हाम्रो खुशी जीवनको याद दिलाउँछ।"
तर भेसीभाङ्का लगाउँदा पनि ठूलो जोखिम छ। "उनीहरूले तपाईँलाई तुरुन्तै गोली हान्दैनन् होला तर त्यसपछि तपाईँ चुपचाप बेपत्ता पर्न सक्नुहुन्छ," उनी भन्छिन्।
कफी पिउन पनि एक्लै बाहिर जान सकिन्न भन्ने इरिनाको गुनासो छ। "किनभने सैनिकहरूले तपाईँलाई बन्दुक तेर्स्याउन सक्छन् र अपमानजनक कुरा भन्न सक्छन् वा तिनीहरूलाई खुसी पार्न आदेश दिन सक्छन्"।
अवज्ञा गर्नुको उद्देश्य
रुस अधीनस्थ युक्रेनी सहरहरूमा प्रतिरोध गर्नु खतरनाक हुन्छ र त्यो ससाना अवज्ञाको रूपमा आउँछ जसको उद्देश्य स्थानीय बासिन्दाहरूलाई उनीहरू एक्लो छैनन् भनेर सम्झाउनु हुन्छ।
मेलिटोपोलमा माभका ज्ला माभका (क्रुद्ध माभका) नामक एउटा गोप्य महिला प्रतिरोध अभियानको हिस्सा भएको सुनाउँछिन्। त्यसको उद्देश्य "युक्रेनीहरू कब्जासँग सहमत नरहेको, त्यसका लागि आह्वान नगरेको र स्वीकार्य नभएको" भनी मानिसहरूलाई बताउनु रहेको छ।
इरिनाका अनुसार उक्त अभियानमा अधीनस्थ सबै सहरका महिला तथा केटीहरू संलग्न छन्। सुरक्षाको कारण त्यसको आकारबारे उनले खुलाइनन्।
माभवका सो अभियानको सामाजिक सञ्जाल हेर्छिन् जसले कब्जाअन्तर्गतको जीवनबारे अभिलेखीकरण गर्छ भने मानिसहरू एक्लै नरहेको सम्झाउन सार्वजनिक स्थलमा युक्रेनी चिह्न वा पर्चाहरू राख्ने काम गर्छ अथवा त्यसभन्दा पनि बढी जोखिमपूर्ण काम गर्छ।
"वेलकम प्याकका रूपमा रुसी सैनिकका लागि कहिलेकाहीँ हामी मदिरामा लेक्साटीभ हाल्छौँ र पकाइएका सामान राख्छौँ," उनले सुनाइन्।
यस्ता कार्यका लागि दण्डसजाय कठोर खालको हुन सक्छ। त्यसको पुष्टि गर्न भने बीबीसीलाई गाह्रो छ।
चुपचाप पारिने बेपत्ता

तस्बिर स्रोत, Global Images Ukraine via Getty Images
युक्रेनी भाषा अथवा युक्रेनसँग सम्बन्धित कुनै पनि कुरालाई त्यहाँ भएका रुसी अधिकारीहरूले अतिवादको रूपमा लिने गरेको माभका बताउँछिन्।
पूर्वी युक्रेनमा कारागारमा यातना दिने गरिएका आरोपबारे सन् २०२३ मा अनुसन्धान गरिरहेकी २७ वर्षीय पत्रकार भिक्टोरीआ रोश्चिना बेपत्ता भएकोबारे युक्रेनीहरूलाई राम्ररी थाहा छ।
रुसी अधिकारीहरूले उनको परिवारलाई सन् २०२४ को सेप्टेम्बरमा हिरासतमा मृत्यु भएको बताए। यसै महिनाको सुरुमा उनको शव धेरै अङ्गहरू निकालिएका र यातनाको स्पष्ट सङ्केतहरूसहित फिर्ता गरिएको थियो।
चुपचाप पारिने बेपत्ताबारे माभवालाई निकै डर लाग्छ। उनी भन्छन्, "जब अचानक तपाईँ कहाँ हुनुहुन्छ अथवा तपाईँलाई के भयो भनी कसैलाई थाहा हुँदैन।"
उनको सञ्जालले त्यसमा आबद्ध हुने नयाँ सदस्यहरूलाई घुसपैठबाट बच्ने केही कार्ययोजना तयार पारेका छन् र अहिलेसम्म उनीहरू साइबर हमलाबाट जोगिन सफल पनि भएका छन्।
उनले भने, "अहिलेका लागि हामी पर्ख र हेरको अवस्थामा छौँ। हामी अहिले अस्त्र उठाएर नियन्त्रणकारीहरूसँग लड्न सक्दैनौँ तर हामी कम्तीमा यो देखाउन चाहन्छौँ कि युक्रेनी समर्थक जनसङ्ख्या यहाँ छ र यो यहीँ रहने छ।"
किएभमा के भइरहेको छ भन्ने कुरालाई उनी र मेलिटोपोलमा रहेका अरूहरूले नजिकबाट नियालिरहेका छन्।
"किनकि किएभ हाम्रो लागि लड्न सक्छ वा सक्दैन भन्ने कुरा हाम्रो लागि महत्त्वपूर्ण छ। सानो कदम पनि महत्त्वपूर्ण हुन्छ," उनी भन्छन्।
एउटा चिन्ताको विषय

माभवा र उनी नजिकका मानिसहरूको चिन्ताको विषय के हो भने यदि किएभले युद्धविराममा सहमति जनायो भने रुसले क्राइमियामा जस्तै नीति अवलम्बन गर्ने छ जसको अर्थ त्यहाँका मानिसहरूको युक्रेनी पहिचान मेटाइने छ र उनीहरूमाथि दमन गरिने छ।
उनले भने, "उनीहरूले स्थानीय बासिन्दालाई आफ्ना मानिसले विस्थापित गर्न थालिसकेका छन् तर यहाँका मानिसहरू अझै आशावादी छन्। हामीले हाम्रो प्रतिरोध जारी राख्ने छौँ, हामी अझै रचनात्मक हुनुपर्ने छ।"
माभकाभन्दा फरक विचार राख्ने पाभलो चाहन्छन् कि युद्धको अन्त्य होओस् चाहे त्यो हुँदा युक्रेन फर्कने अवसरबाट उनी वञ्चित किन हुन नपरोस्।
उनले भने, "मानव जीवन सबैभन्दा मूल्यवान् छ… तर युद्धविरामका लागि केही सर्तहरू छन् र सबैजना त्यसमा सहमत हुन सक्दैनन्। किनभने यसले प्रश्न तेर्स्याउँछ कि विगत तीन वर्षको अवधिमा किन यति धेरै मानिसहरू मारिए? के उनीहरू त्यागिएका र धोका पाएका महसुस गर्ने छन्");